काठमाडाैँ, जिल्लाको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा दाहाल र वडा नं ७ तिल्पुङका वडा अध्यक्ष शुबास बोहोरा जेल चलान हुने भएका छन् । उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले बिहिवार कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई र पौडेल दुवैलाई एक एक वर्ष कैद र १० हजार जरिवाना तोकेको छ ।
२०७६ साल साउन २३ गते काठमाडौंको बौद्धमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कासँग सोही गाउँपालिका वडा नं ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले दुई करोड रुपैयाँ चन्दा माग गरेका थिए । पालिकाका अध्यक्ष खड्कासँग चन्दा रकम माग गर्न मुख्य नाइकेको रुपमा सोही गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा दाहाल र वडा नं ७ का वडा अध्यक्ष शुुबास बोहोराले लोप्साङ लामा र अमृत तामाङलाई प्रयोग गरेका थिए ।
उनीहरुले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरुलाई समेत मार्ने सम्मको धम्की दिन लगाउने मुख्य योजनाकारको रुपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुद प्रमाणको आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो । उनीहरु दुवैजना नेकपा एमालेबाट निर्वाचित पदाधिकारी हुन् ।
सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखु तामाकाशी गाउँपालिका वडा नं ७ का (मिलन) भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको हो ।