काठमाडाैँ,जसपाको अन्तर्विरोधका कारण सरकारविरुद्धको अविश्वास प्रस्ताव दर्ता धकेलिएको छ । अविश्वास प्रस्ताव दर्ताका लागि सबै तयारी पूरा गरे पनि जसपा आन्तरिक सहमतिसहित आउन नसकेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्र बुधबार साँझसम्म पर्खिने मनस्थितिमा पुगेका छन् ।‘जसपाको विवादले प्रस्ताव दर्ताको काम अगाडि बढ्न सकेन, सम्भवतः बुधबार साँझसम्म कुनै सहमति बन्ला,’ अविश्वास प्रस्ताव दर्ताको गृहकार्यमा जुटेका कांग्रेसका एक नेताले भने । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफूहरू तयार भए पनि जसपाले निर्णय नगरेकाले रोकिएको बताए । उनले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय पर्खिने समझदारी भएको बताए ।
‘अविश्वास प्रस्ताव ल्याउन हामी तयार छौँ, तर कांग्रेसले अघि बढाउनुप¥यो । यो निर्णय अब लम्बिनुहुँदैन । तर, जसपाले निर्णय नगरी प्रक्रिया अघि बढ्दैन,’ श्रेष्ठले भने, ‘यो सरकार विस्थापन गरेर नयाँ सरकार बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ उनले जसपाले निर्णय गर्नासाथ प्रक्रिया अगाडि बढ्ने बताए ।उता सत्तासमीकरणबारे निर्णय लिन भन्दै सोमबार जसपाका शीर्ष तहका नेताहरूको बैठक बोलाइए पनि औपचारिक बैठक बस्नै सकेन । केन्द्रीय कार्यकारिणी समिति बैठकबारे पनि जसपामा सहमति जुटेको छैन । जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबारको बैठकमा कुनै निष्कर्ष ननिस्केको र छलफल जारी रहने बताए । ‘बैठक प्रारम्भ भयो, कुनै निष्कर्षमा पुगिसकेका छैनौँ, छलफल जारी छ,’ यादवले भने ।
कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गराउन जसपाको सुनिश्चिततासहितको निर्णय माग गरेपछि शीर्ष तहका नेताहरू बसेका थिए । तर, प्रारम्भमा नै केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्ने विषयमा नेताहरूले दुई विपरीत धारणा राखेपछि छलफल अगाडि बढ्नै सकेन ।एक नेताका अनुसार केही समय अनौपचारिक छलफलपछि बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको बैठक मंगलबार बोलाएर सत्तासमीकरणलगायत विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कोरोना महामारी बढिरहेका वेला उपयुक्त नहुने भन्दै अवस्था सामान्य भएपछि मात्रै बैठक बस्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा भट्टराईसँगै अर्का अध्यक्ष यादवले पनि राजनीतिक परिस्थितिलाई ध्यान दिएर निर्णय दिनुपर्ने बताएका थिए । तर, ठाकुर र महतोले आफ्नो अडान छोडेनन् । त्यसैबीच भट्टराई आफ्नो नियमित स्वास्थ्य जाँचका लागि अस्पताल जानुपर्ने भन्दै बैठकबाट बाहिरिए । त्यसपछि थप कुनै छलफल नभएरै जसपाका शीर्ष नेताहरू बैठकबाट उठेका थिए ।बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराई, अध्यक्षद्वय ठाकुर र यादव, तथा वरिष्ठ नेता अशोक राई, महतो र राजेन्द्र श्रेष्ठ उपस्थित थिए । जसपामा भट्टराई र यादवले ५ पुसमा ओलीले चालेको संसद् विघटनलगायत कदम ‘प्रतिमागी’ भएको भन्दै उनकै नेतृत्वको सरकारमा जानै नहुने मत राख्दै आएका छन् ।
तर, अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले भने आफ्ना माग पूरा गर्ने सर्तमा ओलीलाई पनि सघाउन सकिने मत राख्दै आएका छन् । ठाकुर र महतो यसैलाई आधार बनाएर ओलीसँग निरन्तर संवादमा छन् । यद्यपि, पार्टीभित्र बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले अविश्वास प्रस्ताव पास हुने आश्वासन भट्टराई र यादवले कांग्रेस र माओवादीलाई दिएको स्रोतको दाबी छ ।कांग्रेसलाई उनीहरूले पार्टीभित्र सहमतिमा नै अघि बढ्नका लागि प्रयास गरिरहेको र अन्तिममा बहुमतका आधारमा निर्णय गरेर अविश्वास प्रस्तावलाई सहयोग गर्ने बताएका छन् । जसपा अध्यक्ष यादवले सोमबारको बैठकबाट निर्णय ननिस्के पनि पुनः अर्को बैठक बस्ने बताए । तर, उनले अर्को बैठक कहिले बस्ने भन्ने मिति भने अझै तय नभइसकेको बताए ।
जसपाले निर्णय गर्न नसक्दा माओवादी केन्द्रसमेत केही दिन पर्खिने मनस्थितिमा पुगेको छ । सोमबारको बैठकबाट जसपा निष्कर्षमा पुगेपछि आफू पनि ओलीलाई दिएको समर्थन फिर्ताको विषयमा निर्णय गर्ने मनस्थितिमा माओवादी केन्द्र थियो । त्यसैका लागि पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक करिब चार घन्टासम्म बसेको थियो ।तर, जसपाले कुनै निर्णय गर्न नसकेपछि माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाट आफ्नो पार्टीको सांगठनिक विषयमा मात्रै छलफल गरेको थियो । यद्यपि, माओवादी केन्द्र अविश्वास प्रस्ताव ल्याउने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा पहिले नै स्पष्ट छ । माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता नभए पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।