गण्डकी, प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्ताव असफल बनाउने योजनाअन्तर्गत गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई बिहीबार युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको हो ।मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएका हुन् । अविश्वासको प्रस्तावमा मतदान हुने दिन बुधबार एकाएक सम्पर्कविहीन भई सदनमा अनुपस्थित रहेका मनाङेले भोलिपल्टै मन्त्री उपहार पाएका छन् । उनी आफैँले पनि ‘सरकार टिकाउन मद्दत गरेकाले मन्त्री पद पाएको’ प्रतिक्रिया दिएका छन् ।
यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि खाली भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भने अझै रिक्त छन् ।मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेदवार बन्दै प्रदेश सभामा निर्वाचित भएका मनाङे केही समयपछि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो समयमा उनले आफू स्वतन्त्र सांसद भएको भन्दै प्रदेश सभामा छुट्टै कुर्सीको व्यवस्था गर्न माग गरेका थिए । त्यति मात्र नभएर उनले पार्टीलाई बुझाएको लेबी पनि फिर्ता हुनुपर्ने माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।
मनाङेको शपथग्रहण कार्यक्रममा सभामुख र विपक्षी दलका नेताहरू उपस्थित भएनन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर बनाइएको युवा तथा खेलकुद मन्त्रालय कहाँ रहन्छ भन्ने टुंगो लागेको छैन । जसका कारण उनले सामाजिक विकास मन्त्रालयको सभाहलमै पदभार ग्रहण गरे ।राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचानक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको प्रस्टीकरण दिएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफू पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहेको जनाएका हुन् । उनले बुधबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राजमोले बनायो छानबिन समिति
राष्ट्रिय जनमोर्चाले सांसद शाही बिरामी प्रकरणबारे छानबिन गर्न महासचिव मनोज भट्टको संयोजकत्वमा समिति बनाएको छ । समितिले बिहीबार पोखरा आएर छानबिन थालिसकेको छ ।समितिले दिएको प्रतिवेदनका आधारमा यो प्रकरणमा के भएको हो भन्ने सार्वजनिक गर्ने र कमजोरी भएको भए सांसद शाहीमाथि कारबाही हुने राजमोका एक नेताले बताए । जनमोर्चाले यसअघि सांसद शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको थियो ।
अस्पतालमा शाहीलाई भेट्न नदिएको भन्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकोमा पुनः कसरी पजिटिभ आयो भन्दै प्रश्न गरेको थियो । यसैबीच, जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले बिहीबार बिहान भेटेका छन् । ‘मैले उहाँलाई टाढैबाट भेटेँ, चरककै कोभिड वार्डमा हुनुहुँदोरहेछ, सामान्य कुराकानी भयो,’ उनले भने ।