काठमाडाैँ,कांग्रेस सभापति शेरबहादुर देउवाले श्रमिक र साना व्यवसायीहरुका लागि राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै देउवाले लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुको जीवन कष्टकर बन्दै गएकोले आवश्यक राहत र सहयोगको कार्ययोजना अभिलम्व ल्याउन माग गरेका हुन् ।
सभापति देउवाले २००३ सालमा विराटनगरमा कांग्रेसको नेतृत्वमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको भन्दै नेपालको प्रजातन्त्र स्थापनाको आन्दोलनको प्रस्थान विन्दु नै मजदुर आन्दोलन भएको स्मरण गरेका छन् । ‘श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन मे १ तारिखलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइदै आइएको छ । यस अवसरमा म सम्पूर्ण श्रमिक दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु,’ देउवाले विज्ञप्तिमार्फत् भनेका छन् ।
उनले अहिले व्याप्त कोभिड–१९ को महामारी सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताको फल भएको उल्लेख गरेका छन् । ‘देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ ।संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,’ देउवाले भनेका छन्, ‘बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ ।’