कोरोनाको महामारीकै नीचमा आगामी बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिभासको बैठक बस्दैछ । प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न यो अधिवेशन डाकिएको हो । बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ । तर, धेरैजना सांसदहरु कोरोना पोजेटिभ भएर अहिले आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिएका सांसदहरुले एउटै कापीमा कसरी हस्ताक्षर गर्ने भन्ने अन्योल छ ।
संसद सचिवालयले सोमबारदेखि नै बैशाख २७ को बैठकसम्बन्धी तयारी सुरु गरेको छ । सोमबार दिउँसो डा. भगवान कोइराला लगायतका चिकित्सकहरुलाई संसद भवनको निरीक्षण समेत गराएर परामर्श लिइएको संसद सचिवालयका कर्मचारीले जानकारी दिए ।‘विज्ञ चिकित्सकहरुको टोलीले स्थलगत निरीक्षण गरेपछि सभामुखज्यूले स्वास्थ्य सम्बन्धी मापदण्डबारे डाक्टरहरूसँग छलफल गर्नुभएको छ । उहाँहरुको सुझावअनुसार बैठक अगाडि बढ्छ ।’
चिकित्सकहरुको सुझाव अनुसार बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पीसीआर जाँच नगरी सांसदहरुले सहभागिता जनाउन नपाउने भएका छन् । बैठकमा उपस्थित हुँदा मास्क अनिवार्य लगाउनुपर्ने छ भने सांसदहरुले दुई मिटरको दुरीमा रहनुपर्नेछ ।पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएका सांसदहरुलाई मतदानमा कसरी सहभागी गराउने भन्नेबारे चाहिँ कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुंगो लगाइने संसद सचिवालय स्रोतले बतायो ।सभामुखले आयोजना गरेको छलफलमा प्राडा भगवान कोइराला, डा. लोचन कार्की, डा. अनुप सुवेदी लगायतका चिकित्सकको सहभागिता थियो ।