काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीका सांसदले विश्वासको मत नदिने र अन्य दलहरूसँग पनि छलफल गरेर विश्वासको मतमा ओलीलाई असफल बनाउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
२७ वैशाखका लागि संसद्को प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले २७ वैशाखको अपराह्न १ बजे आह्वान गरेकी हुन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँताइदिएको दुई महिनापछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।
सरकारले संसद् छलेर अध्यादेशबाट देश चलाउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । संसदमा छलफल नगरेर अध्यादेश ल्याएको भन्दै बैठकले भत्र्सना गरेको महतले बताए ।यस्तै कोभिड महामारीमा सरकार गम्भीर नबनेको भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको छ ।नयाँ पत्रिकामा खबर छ ।