काठमाडौं, सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ ।अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो ।
धेरै भन्दा धेरै सिलिन्डरहरु भरी नेपाली नागरिकको ज्यान बाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउने कार्य गरिदिनुहुन अनुरोध छ’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तिमा भनेका छन् ।कोरोना भाइरसको गम्भीर संक्रमित भेटिएपछि पछिल्लो समय अस्पतालहरुमा अक्सिजनको अभाव हुने खतरा बढेको छ । मानिसहरुले आआफैं घरमा अक्सिजन सिलिन्डर राख्ने गरेकाले अभाव भएको अस्पतालहरुको दावी छ ।
मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।