वीरगञ्ज ,वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।नगरवासीको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्न लागेको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । ‘कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा आवश्यक तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘शुक्रबार रिबन काटेर उद्घाटन गर्छौं । अनि संक्रमित राख्न सुरु गर्छौं ।’
वीरगञ्ज घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार पारेको हो । अस्थायी कोभिड अस्पतालमा चिकित्सक, नर्स, पारामेडिकल स्टाफले कोभिड संक्रमितको उपचार र हेरचाह गर्नेछन् । त्यसका लागि विशेषज्ञ डाक्टर १ जना, मेडिकल डाक्टर २ जना, मेडिकल अफिसर ५ जना, पारामेडिकल स्टाफ २१ जना, सफाइकर्मी ८ जना, र प्रशासनिक कर्मचारी १० जना खटाइने महानगरपालिकाले जनाएको छ । अक्सिजन सहितको बेडको व्यवस्था गरिएको छ । होम आइसोलेसनमा अक्सिजनमा रहेका विरामी पनि अस्थायी कोभिड अस्पतालमा भर्ना हुन सक्ने महानगरले जनाएको छ ।कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत महानगरले निःशुल्क उपलब्ध गराउनेछ।
महानगरले पनि स्वाब संकलन गर्ने
महानगरले शुक्रबारदेखि नै स्वाब संकलनको काम पनि शुरु गर्ने भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा नारायणी अस्पतालमा मात्रै स्वाब संकलन भइरहको थियो । महानगरपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म दमकल कार्यालयमा स्वाब नमूना संकलन गर्ने भएको छ भने बढी संक्रमित भेटिएको वडामा दिउँसो २ बजेदेखि घुम्ती टोलीले स्वाब संकलन गर्नेछ ।
यसअघि महानगरपालिकाले एम्वुलेन्स, शव वाहन सेवा, होम आइसोलेसनमा रहेका कोभिड संक्रमितलाई निःशुल्क औषधि वितरण सेवा शुरु गरिसकेको छ । लायन्स क्लबसँगको साझेदारीमा कोभिड संक्रमितका लागि निःशुल्क अक्सिजन सेवा समेत दिँदै आएको छ । अस्पताल सञ्चालन पछि भने निःशुल्क अक्सिजन सेवा बन्द गर्नुपर्ने अवस्था आउने नगर प्रमुख सरावगीले बताए । ‘अस्पताल सञ्चालन गर्न नसक्दा घर–घरमा अक्सिजन पु¥याइरहेका थियौं,’ उनले भने, ‘अस्पताल सञ्चालन पछि यता पनि अक्सिजन चाहिन्छ, बिस्तारै निःशुल्क अक्सिजन सेवा बन्द गर्छौं ।’
वीरगञ्जमा अहिले पनि कोभिड संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । कडा लक्षण देखिएका अधिकांश संक्रमितलाई अक्सिजन दिनुपरिरहेको छ ।गत वर्ष कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगरले गण्डक अस्पताललाई भाडामा लिएर अस्थायी कोभिड अस्पताल सन्चालन गरेको थियो । गण्डक कोभिड अस्पतालमा ४ सय ४ जना र सिद्धार्थ स्कुल सेमी आइसोलेसन सेन्टरमा १ सय २३ जना संक्रमितकोे उपचार गरिएको थियो ।अनलाइनखबरमा खबर छ ।