काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न हरसम्भव प्रयास रहेको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई बिफ्रिङ गर्दै देउवाले ओलीलाई विश्वासको मतमा असफल बनाएर कांग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि प्रयास भइरहेको बताएका हुन् ।‘ओलीलाई विश्वासको मतमा असफल बनाउने हो, ओलीको विकल्प खोज्ने नै हो, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय नै त्यही छ,’ देउवाले भनेका छन् । देउवाले विश्वासको मतमा ओलीलाई असफल बनाइसकेपछिको अवस्थाबारे कानुनविद् र शीर्ष नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।
देउवाले ओली नेतृत्वको सरकारले सम्पूर्ण संवैधानिक र राजनीतिक हैसियत गुमाइसकेकाले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् । यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउन अन्य दलहरूलाई समेत आह्वान गरेको छ ।कांग्रेसकी सचेतक पुष्पा भुषालले बैठकले विश्वासको मतमा प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्न आह्वान गर्ने तथा आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको जानकारी दिइन् ।
बैठकले सरकारले संसदलाई छलेर असंवैधानिक रुपमा अध्यादेशहरू जारी गरेको भन्दै आपत्ति जनाएको छ । असंवैधानिक रुपमा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबमोजिम बोलाइएको आइतबारको परिषद् बैठकमा सहभागी नहुने निर्णय गरेको भुषालले बताइन् ।बैठकमा कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका विषयमा समेत छलफल भएको छ । कांग्रेसले सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आपत्ति जनाएको छ ।
‘महामारीले जनता मरिरहेका छन्, सरकार गैरजिम्मेवारी भएर प्रस्तुत भएको छ, खोप खरिदमा कमिसनको चक्करमा फसेको सरकारले अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर राख्न सकेको छैन । गरिब, मजदुर र किसान भोकभोकै परिरहेका छन्,’ बैठकका निर्णय सुनाउदै सचेतक भुषालले भनिन्, ‘निषेधाज्ञाबाट प्रभावितलाई राहतको कार्यक्रम ल्याउन, अक्सिजन, अस्पतालमा बेड र खोपको उचित प्रबन्ध गरेर जनताको जीवनरक्षा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’