जुम्ला, जुम्लाको सिन्जा गाउँपालिका अध्यक्ष देवल सिंह रावलद्वारा गाउँपालिकाका २ वटा गाडी कोरोना संक्रमितलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । अध्यक्ष रावलले आफूले चढ्दै आएको गाडी पनि कोरोना संक्रमितलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।
अहिले देश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। यसको प्रभाव देशका मुख्य शहरहरुमा बढि देखिएको छ भने विस्तारै अन्य साना शहर, गाउँहरुमा समेत देखिएको छ । त्यस्तै, अहिले कर्णाली प्रदेश समेत कोरोनाको उच्च जोखिममा रहेको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा सङ्क्रमण फैलिँदै गएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत र जुम्लामा सङ्क्रमणको दर निकै बढ्दो छ।
यसैबीच कर्णाली प्रदेश सरकार र स्थानिय सरकारहरुले सङक्रमण रोकथामका लागि सजकता अपनाउन थालेका छन। कर्णाली प्रदेशको जुम्ला जिल्लामा अहिले सक्रिय संक्रमित संख्या १०० नाघेको छ।सदरमुकामबाट करिव ५१.२ किलोमिटर दुरीमा रहेको सिन्जा गाउँपालिकामा अहिलेसम्म ३ जना संक्रमित भेटिएका छन्। जुम्लाको सिन्जा गाउँपालिकाले कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा सन्चालनमा ल्याउने तयारी गरेको हो। साथै गाउँपालिकाका अध्यक्ष रावलले आफुले चढ्दै आएको गाडीलाई समेत एम्बुलेन्सको रुपमा निःशुल्क उपलब्ध गर्ने घोषणा गरेका छन् ।