चीन सरकारले अनुदानमा दिएका ४०० अक्सिजन सिलन्डिर, १० भेन्टिलेटर नेपाल एयरलाइन्सको जहाजले बेइजिङबाट मंगलवार काठमाडौं ल्याएको छ । चीनले सहायता घोषणा गरेको ५० लाख चिनियाँ युयान मूल्य बराबरका सामाग्रीमध्ये पहिलो चरणमा नेपालले प्राप्त गरेको हो । नेपाल एयरलाइन्सको यही उडानबाट होङ्सी सिमेन्टका तर्फबाट उपलब्ध गराइएको एक सय ७० अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइएको छ ।
चिनियाँ स्टेट काउन्सिलर वाङ् यीले १४ बैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ५० लाख चिनियाँ युयान बराबरका स्वास्थ्य सामग्री आपत्कालिन सहायताका रुपमा उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसपछि नेपाली र चिनियाँ कूटनीतिक अधिकारीबीच छलफल भएको थियो । त्यही अनुसार चीन सरकारले अनुदान उपलब्ध गराएको हो ।चीन सरकारले घोषणा गरेको ३५सय मध्ये ३१ सय अक्सिजन सिलिन्डर दुई सातापछि ल्याउने नेपालको तयारी छ । दोस्रो चरणमा हवाई जहाजमा १६ सय तथा तेस्रो चरणमा स्थल मार्गबाट १५ सय अक्सिजन सिलिन्डर ल्याउने तयारी छ । नेपालले २० हजार थान अक्सिजन सिलिन्डर माग गरे पनि त्यो संख्यामा उपलब्ध गराउन नसक्ने जवाफ चीनले दिएको कूटनीतिक स्रोतले जनाएको छ ।
‘नेपालमा कोभिड १९ को परिस्थिति बिग्रँदै गएको देखिएको छ र नेपालले महामारीविरुद्ध मेडिकल उपकरणको अभाव सामना गर्नुपरेको छ । महामारी विरुद्ध नेपाली जनताको लडाईँमा चीन सरकारले मेडिकल उपकरणहरुको आपतकालिन सहायता उपलब्ध गराउने निर्णय भए बमोजिम सामग्रीहरु उपलब्ध गराइएको हो’ मंगलवार चिनियाँ दुताबासका प्रवक्ता वाङ सियालोङले विज्ञप्तिमा भनेका छन् । उनले कोभिड १९ को महामारीमा चीन र नेपालले एक अर्कालाई सुखदुःखमा सहयोग गर्दै आएको पनि स्मरण गर्दै आएका छन् ।
प्रवक्ता वाङका अनुसार चीनका विभिन्न तहका सरकार तथा समाजका विभिन्न तप्का नेपालको महामारीको अवस्थाप्रति चिन्तित छन् । ‘उनीहरु आफ्नो क्षमता अनुसारको सहयोग उपलब्ध गराउन तयार छन्’ वाङ्ले विज्ञप्तिमा भने, ‘उनीहरु नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन परिचालित छन् ।यसले नेपाली जनताप्रति चीनको गहिरो मित्रता मात्रै प्रदर्शित गरेको छैन, दुई देशका लागि स्वास्थ्य समुदाय निर्माणको सक्रिय अभ्याससमेत गरेको छ ।’ चिनियाँ दुताबासले चीनका विभिन्न च्यानलबाट उपलब्ध हुने स्वास्थ्य सामग्री तथा सहायता शीघ्रातिशीघ्र उपलब्ध गराउन समन्वय गर्नेसमेत वाङ्ले उल्लेख गरेका छन् ।