आमासँगै सुतेकी अंगिरा हराइन्,गाउँकै युवाले गरे बलात्कार मितिः २०७७ जेठ ९ गते शुक्रबार स्थान ः रुपन्देही देवदह नगरपालिका–११ को वड्कीगुम्मी गाउँ समय ः रातिको १० बजे
गते जेठ ९ गते शुक्रबार रुपन्देही देवदह–११ वड्कीगुम्मी गाउँकी १३ वर्षीया बालिका अंगिरा पासी बेलुकीको खाना खाएर आमासँगै सुतिन् । साँझ खाना खाएर आमासँगै सुतेकी १३ वर्षीया बालिका अंगिरा घरबाट राति १० बजेतिर हराइन् । छोरी नदेखेछि आमा शान्तीदेवी पासीले छोरीको खोजी गरिन् । कतै नभेटेपछि शान्तिदेवीले छरछिमेक र गाउँलेलाई हारगुहार गरिन् । केहीबेरमा गाउँलेहरु जम्मा भए । सबैले अंगिराको खोजी गरे । केही समयको खोजी प्रयासपछि रातको करिव ११ बजे नजिकैको खरबारीमा अंगिरा भेटिइन् । खरबारीमा उनी एक्लै थिइनन् । उनीसँगै गाउँका युवक पनि भेटिए । स्थानीय २५ वर्षीया युवक वीरेन्द्र भर उनीसँगै थिए । भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीयले पत्तो पाए ।
यसरी १३ वर्षेकी बालिका अंगिरा पासी स्थानीय युवाबाटै बलात्कारको शिकार भइन् । घटनाको भोलिपल्ट त्यस विषयलाई समाजमा मिलाउने प्रयास भयो । १३ वर्षीया अबोध बालिकालाई फकाएर जबर्जस्ती शारीरिक सम्बन्ध राख्नु कानूनी रूपमा जघन्य अपराध मानिन्छ । तर देवदह नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमरबहादुर चौधरी र गाउँ समाजले उनलाई बलात्कार गर्ने स्थानीय युवा वीरेन्द्र भरसँगै विवाह गरिदिने निर्णय गर्यो । अंगिराकी आमा शान्तीदेवी पासी, स्थानीय युवा सन्दिप पासी, प्रल्हाद पासी लगायत देवदह–११ वड्कीगुम्मीका गाउँले फैसलाको साक्षी बने ।
घटनाको साक्षी बनेका प्रल्हाद पासीका अनुसार वडा अध्यक्ष चौधरीले अंगिराको हात समाएर धकेल्दै लिएर उनी माथी बलात्कार गर्ने वीरेन्द्रको घरमा लगेर जिम्मा लगाइदिए । आफूमाथि के भएको अंगिरा स्वयंलाई भने थाहा भएन । कानूनको अनभिज्ञताको कारण उनकी आमा पनि गाउँ समाजले गरेको निर्णयबारे केही बोलिनन् र उनलाई के गर्ने भनेर गाउँ समाजले पनि सोधेन ।
यसरी रुपन्देहीको देवदहमा एक अवोध बालिका बलात्कारको शिकार भइन् । तर समाजले घटनाबारे प्रहरीलाई खबर गर्नुको साटो गाउँमै गुपचुप बनायो ।
बलात्कारीसँग विवाह गराउने गाउँ समाजको निर्णय ,झुण्डिएको अवस्थामा अंगिरा मृत फेला
अंगिरा पासी बलात्कारको शिकार भइन् । वडा अध्यक्ष अमरबहादुर चौधरी र गाउँ समाजले उनलाई बलात्कार गर्ने स्थानीय युवा २५ वर्षीया वीरेन्द्र भरसँगै विवाह गरिदिने फैसला गर्यो । तर त्यो फैसला वीरेन्द्रको परिवारलाई स्विकार भएन । गाउँ समाजले उनलाई वीरेन्द्रसँग विवाह गर्ने निर्णय गरिसकेपछि युवकको घरमा अंगिरालाई पुर्याइदियो । युवक विरेन्द्रकी आमा अकाली भर यसमा असन्तुष्ट थिइन् । अकालीले गाउँ समाजकै बैठकमा अंगिरा दलित परिवारको केटी भएकोले बुहारी स्विकार गर्न नसक्ने भनेको स्थानीय प्रल्हाद पासीको भनाइ छ ।
वडाध्यक्ष चौधरी र गाउँसमाजले अंगिरामाथि भएको अपराध र उनले पाउनुपर्ने न्याय दिन सकेनन् । चौधरी र गाउँ समाजले त उल्टै दिनहुँ बलात्कार हुने गरि एउटी नाबालिकाको जिम्मा एउटा युवकलाई लगायो । जसले अंगिरालाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको थियो । दलित परिवारकी बालिकालाई बलात्कार गर्न हुने तर विहे गर्दा घरपरिवारले स्वीकार नगरेको बताइरहेका छन् । युवकको परिवारले बस्न दिएन । पिटमार गर्दै दुवैजनालाई घरबाट निकालिदियो । गाउँलेका अनुसार शनिबार दिउँसो करिब ४ घण्टा युवक वीरेन्द्र र अंगिरा रोहीणी नदीको किनारमा सँगै थिए । तर एकैपटक अपरान्ह ५ बजेको समयमा अंगिरा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परिन् ।
बालिका जेठ १० गते शनिवार अपरान्ह ५ बजे देवदहमा रहेको रोहीणी नदीको किनारको एउटा रुखमा झुण्डीएको अवस्थामा मृत फेला परिन् । युवक विरेन्द्र फरार थिए । घटानाबारे प्रहरीलाई खबर गरियो । अंगिराको बलात्कारपछि बलात्कारीसँगै जवरजस्ती बिहे गर्ने गाउँ समाजको निर्णय, उसैदिन रुखमा झुण्डिएको अवस्थामा बालिका मृत फेला परेको देखेर पनि प्रहरी नै घटनाबारे संवेदनशील बनेन । आत्महत्या गरेको भन्दै घटनामा हेलचेक्रयाँइ भयो ।
जाहेरी दिन गएका पीडितपक्षलाई प्रहरीले फर्काइदिएको थियो । किशोरी आत्महत्याको घटनामाथि प्रहरीले जाहेरी दर्तामा केही दिन ढिलाई भयो । तर मानव अधिकारकर्मीको दबावपछि मृत्यु भएको चार दिनमा प्रहरीले जाहेरी दर्ता गर्यो । स्थानीय अगुवा गणेश खातीका अनुसार प्रहरीले ४ दिनसम्म घटनालाई गम्भिरता पूर्वक नलिई आत्महत्या भनेर टारेको थियो ।
अंगिराको रहस्यमय मृत्यु,३ जना पक्राउ, न्यायको पर्खाइमा पीडित
बलात्कारको शिकार भएकी अंगिरालाई गाउँ समाजले न्याय दिनु त कता हो कता गाउँसमाजको निर्णय नै उनको मृत्युको मुख्य कारण बन्यो । १३ वर्षीया अबोध बालिकालाई फकाएर जबर्जस्ती शारीरिक सम्बन्ध राख्नु कानूनी र मानवीय रूपमा जघन्य अपराध हो । मुलुकी अपराधसंहिता विपरीत वडाध्यक्षकै रोहवरमा गाउँ समाजका अगुवा मिलेर अंगिरालाई बलात्कार गर्ने व्यक्तिकै जिम्मा लगाउनु नै झन् गलत भएको गाउँलेको भनाइ छ । तर वडा अध्यक्ष चौधरी भने गाउँ समाजलाई झुटो सावित हुने बयान दिन पछि परेनन् ।
चौतर्फी दबाबपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । मृतक अंगिराकी आमाले छोरीको बलात्कारपछि हत्या भएको दाबीसहित तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको जाहेरीका आधारमा अंगिरा पासीको हत्या आरोप लागेका तीनजना बिहीबार पक्राउ परेका छन् । प्रहरीले बलात्कार तथा हत्या आरोप लागेका वीरेन्द्र भर, उनकी आमा अकाली र ठूली आमा शितली भरलाई पक्राउ गरेको जनाएको छ ।
प्रारम्भिक रिर्पोटमा बालिकाको बलात्कार देखिएपछि थप पुष्टयाँइका लागि फरेन्सिक जाँच गर्न नमूना काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । पोस्टमार्टम गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घटना अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बालिकाको बलात्कार भएको प्रारम्भिक रिपोर्टमा देखिएको छ । उता अंगिराको परिवार भने शोकमा छ । छोरीका हत्यारालाई चाँडो भन्दा चाँडो कारबाही हुनुपर्ने अंगिराकी आमाको माग छ ।
जनप्रतिनिधी र गाउँ समाज जसले एउटी अबोध नाबालिकाको बिहे गराउने कार्य गर्यो, उक्त कार्य नै सबैभन्दा गलत भएको समाजका अगुवाहरुको भनाई छ । समाजमा बसेर पीडितलाई थप पिडा दिनेजस्ता गलत निर्णय गर्नेमाथि पनि कारबाही हुनुपर्ने माग उठेको छ ।
जनप्रतिनिधी र गाउँ समाजले न्याय दिनुको साटो कानून हातमा लिनखोज्दा अंगिराको ज्यान गएको स्थानीयहरु नै बताइरहेका छन् । यो घटनाले देवदह नगरपालिकाका बालबालिका एवं महिला जनप्रतिनिधीबाटै सुरक्षित छन् त ? भन्ने प्रश्न चिन्ह खडा भएको छ ।