काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताएका छन् ।बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले आजै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने बताए । उनले अघि भने, ‘अध्यादेशबाट ल्याउने कुनै सोच छैन । नियमित बैठकमै बजेट पेश हुन्छ ।’
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।प्रतिनिधिसभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिनअघि नै प्रि–बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि–बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।