प्रहरी निश्कर्ष : नवराजकी प्रेमिकाकाे परिवार र वडाध्यक्षको योजनामा कुटपिट गरेर हत्या
३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर,२९ जना पक्राउ, ५ जना अझै फरार मितिः२०७७, जेठ १० गते शनिबार स्थानःपश्चिम रुकुमको चौरजाहरी नगरपालिका, वडा नम्बर ८ को सोतीगाउँ
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका नवराज विकसहित १८ जना युवाहरुको टोली जेठ १० गते शनिबार पश्चिम रुकुमको सोतीगाउँमा गएका थिए । नवराज सोतीगाउँकी एक किशोरीको प्रेम चक्करमा थिए । तर केटी पक्षले आक्रमण गर्दा नवराज सहित ५ जनाको हत्या भयो भने १२ जना घाइते भए । घटनाबारे अनुसन्धान गरेको प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर गरेको छ । घटनाको गृह मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुमका प्रतिनिधि सहभागी भएर गठित समतिले बृहत अनुसन्धान गरेको थियो । अनुसन्धानरत एक प्रहरी अधिकारीका अनुसार किशोरी लिन गएका नवराजसहितको टोलीलाई गाउँलेले तीनतिरबाट घेरा हालेर ढुंगा, लाठी र हँसियाले आक्रमण गरेका थिए । प्रहरी अनुसन्धानमा घटनाका मुख्य नाइके वडाअध्यक्ष डम्बरबहादुर मल्ल रहेको समेत खुल्न आएको छ । प्रहरीका अनुसार २९ जनालाई पक्राउ गरीएको छ भने अन्य ६ जना फरार रहेको र उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सोती गाउँका २८ र फरार ५ जनासहित ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीनवटा कसुरमा र जाजरकोटका एकजनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको जिल्ला अदालत रुकुमले जनाएको छ ।
अदालतका अनुसार वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, विकसँग प्रेम सम्बन्धमा रहेकी भनिएकी किशोरी र उनकी आमा बुवा, दाई, एक नाबालक, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ललाई अदालतमा उपस्थित गराइरहेको छ भने तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढालाई फरार प्रतिवादी बनाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले प्रहरीको अनुसन्धान प्रतिवेदनपछि गत आइतबार जिल्ला अदालतमा २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । प्रहरीले दुई नाबालकबाहेक ३२ जनाविरुद्ध हदैसम्मको सजाय माग गरेको छ । मुलुकी फौजदारीसंहिता अनुसार उनीहरुलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग अभियोगपत्रमा उल्लेख छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमासमेत आवाज उठीरहेको यो घटनाको अनुसन्धानमा प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले घटनाको निष्पक्ष छानविन भइरहेकाले धैर्य गर्न सबैलाई आग्रह गरेको छ । अभियुक्तहरुको स्विकारोक्ति,योजनाबद्ध हत्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको हत्या भएको घटनाको मुख्य पात्रकोरुपमा सोतीगाउँकी मल्ल थरकी एक किशोरी छिन् । यो हत्याको मुख्य कारण उनै किशोरी र जाजरकोटका नवराज विकको प्रेम सम्बध रहेको देखाइएको छ । दुईजनामध्ये नवराजको ज्यान गइसकेको छ भने अर्की पात्र उनकी प्रेमिका भनिएकी किशोरी अहिले सुधारकेन्द्रमा छिन् । उनै किशोरीले प्रहरी समक्ष दिएको बयान समेत यतिखेर चर्चाको विषय बनेको छ । किशोरीले दिएको बयानमा उनले भनेकी छिन् घटना के कसरी भयो मलाइ थाहा छैन । उनले दुवै बीच प्रेम सम्वन्ध थियो भन्ने स्वीकार गरेकी छिन् भने पछिल्लो समय सम्वन्ध केही बिग्रेको र कुरा भने भइरहेको बयान दिएकी छन् । ‘मैले फेसबुकमार्फत नवराजको मृत्यु भएको सुने ।’ प्रहरी स्रोतकाअनुसार उनले घटनाबारे बुज्दै जाँदा मेरो बुवा, दाई समेतले नवराज विक समेतलाई लखेट्दै घेरा हाल्दै वारदात भन्ने स्थानमा पु¥याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ भन्ने बयान दिएकी छिन् ।
यस्तै किशोरीकी आमा प्रकाशी मल्लको वयानअनुसार जेठ १० गते नवराज विकसमेत आफ्नो घरमा आएका केटाहरु र निज नवराज विकलाई आफूले जातीय विभेद हुने शब्दले समेत गाली गरेको भन्दै प्रहरी समक्ष स्वीकार गरेकी छिन् । त्यसपछि उनीहरु फर्केर गए । प्रकाशीले प्रहरीलाई दिएको बयानअनुसार नवराज विक समेतका केटाहरुलाई मार्ने पूर्व योजना उनका श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बर बहादुर मल्लले बनाइरहेका थिए । त्यसपछि उनीहरुलाई बोलाई पिछा गर्दै जाने क्रममा रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ औल जिउला भन्ने स्थानमा फेला पार्यौं । त्यसपछि घेराहाली ढुंगा, हँसिया समेत प्रहार गरी भेरी नदीको किनारमा पुर्याई नवराज विक समेतलाई मारेर भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कुटपिट गरी नियन्त्रमा लिई घटना घटाएको सत्य हो भन्ने उनको बयानबाट खुलेको प्रहरीले जनाएको छ । दलित युवासँग छोरीको विवाह गर्दा बेइज्जत हुने डरले पूर्व योजना अनुसार उनको हत्या गरेको किशोरीकी आमा प्रकाशी मल्लले प्रहरी समक्ष स्वीकार गरेको खुलेको छ ।
किशोरीका बावुले मृतक समेतका केटाहरुलाई पछाडीबाट लाठी, ढुंगा हान्दै लखेटेर भेरी नदी पुर्याई मारेको स्विकार गरेका छन् । उनले प्रहरी समक्ष भनेका छन् म समेत पछिपछि गएका थियौं । नवराजसहित नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुट्यौं । बाँकी अन्य ७ जना पनि उनीहरुको कुटपिटमा परेको उनले प्रहरीको बयानमा भनेका छन् । भेरी नदीको बीच भँगालोमा समेत पुगेर कुटेका थियौं किशोरीका बाबुको बयानमा छ ।
यस्तै किशोरीका दाजुको बयानका आधारमा नवराज विक समेतलाई लाठी, ढुंगा समेतले मरणासन्न हुनेगरी कुटेर भेरी नदीमा बगाइदिएको स्विकार गरेका छन् । उनले नवराजसहित अन्य पाँच जनालाई भेरी नदीमा बगाइदिएको बयान प्रहरीसमक्ष दिएका छन् ।
घटनाकामुख्य योजनाकार भनिएका वडाध्यक्ष मल्लले भने फरक बयान दिएका छन् । उनले बयानकाक्रममा आफूले कसैलाई कुटपिट नगरेको र कसले मा¥यो भन्ने थाहा नभएको बताएका छन् । तर घटनाका घाइतेले भने ६ जनालाई कुटपिट गरि हत्या गरेको र आफूहरु भाग्यले बाँचेको बताइरहेका छन् । घटनाको मुख्य योजनाकार वडाध्यक्ष मल्ल जातीय विभेद मुख्य कारणः गृह प्रतिवेदन
गृहमन्त्रालयले पश्चिम रुकुमको सोतीगाउँ घटनाको अनुसन्धानका लागि बनाएको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा गठीत टोलीको प्रतिवेदनमा वडाध्यक्ष डम्बरबहादुर मल्ललाई रुकुम घटनाको मुख्य योजनाकार भनिएको छ । गृहले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको उल्लेख छ । प्रतिवेदन भन्छ, ‘वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ ।’
उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू प्रवेश गरेभन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि गाउँलेलाई फोन गरेर एकिकृत पारीएको बताइएको छ । प्रतिवेदनका अनुसार वडाअध्यक्ष मल्लले प्रहरीलाई समेत फोन गरेर, गलत सूचना दिएर प्रहरीलाई गलत ठाउँ पठाएर, युवाहरुलाई अर्कै स्थानमा घेराबन्दी गरेर हत्या गरेको प्रतिवेदनमा उल्लेख छ ।
व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिएर करिब ४ किलोमिटर टाढा पुगेका पीडितलाई लखेटेर ढुंगा प्रहार गरी नवराज विकसहित ६ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृहद्धारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । गृहको विवरणमा अभियोग पत्रमा माग दाबी गरिएझै सबै आरोपीमाथि जातीय भेदभाव, ज्यान मार्ने उद्योगको कारबाही हुनुपर्नेछ । यसैवीच २ नाबालक प्रतिवादीहरूलाई बालसुधार गृह पठाउन सोमबार जिल्ला अदालत रुकुमले आदेश दिएको छ । ३४ प्रतिवादीमध्येका २ जनालाई बालसुधार गृह पठाइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
पछिल्लो समय रुकुममा फेरी तनाव सिर्जना भएको छ । सोतीगाउँमा भएको घटनामा मृत्यु हुने ६ जनाको पोस्टमार्टम रिपोर्ट गलत दिएको भन्दै पीडित पक्षले जिल्ला अस्पताल जाजरकोटमा डाक्टरविरुद्ध नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । रिपोर्टमा पानीमा डुबेर मरेको, गणेश बुढाको शरीरबाट गन्ध आएको, नवराज विकबारे केही नलेखेको पीडित पक्षको दाबी छ । मृत्यु हुने ६ जनाको शरीरभरि ठाउँठाउँमा चोट लागेको देख्दादेख्दै उल्टो रिपोर्ट दिने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै पीडित पक्ष र आफन्तले नाराबाजीसँगै आन्दोलन चर्काएका छन् ।