spot_img

शम्भु सदाको रहस्यमय मृत्यु प्रकरणको नयाँ रहस्य खुल्यो

spot_img

शम्भु सदाको रहस्यमय मृत्यु
हत्या कि आत्महत्या !
मितिः २०७७ जेठ २७ गते, मंगलबार
स्थानः धनुषाको सबैला नगरपालिका ३, ईलाका प्रहरी कार्यालय, सबैला
समयः रातिको २ बजेतिर
गत जेठ २७ गते मंगलबार ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्रको शौचालयमा २३ वर्षीय शम्भु सदा मृत अवस्थामा भेटिए । प्रहरीका अनुसार १४ दिनसम्म हिरासतमा रहेका शम्भु जेठ २७ गते राति अन्दाजी २ बजेतिर शौचालय गएका थिए । शौचालय गएको लामो समयसम्म पनि उनी नफर्किएपछि सुरक्षामा खटिएका प्रहरीले शौचालयको ढोका फोेडेर हेर्दा झुण्डिएको अवस्थामा उनको शव फेला पारे । सुरक्षामा खटिएका प्रहरीले ईलाका प्रहरी कार्यालय सबैलाका ईन्चार्ज समेत रहेका प्रहरी निरीक्षक चन्द्रभुषण यादवलाई राति नै घटनाबारे जानकारी गराए । प्रहरी निरीक्षक यादवले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउँदै तत्काल शवको मुचुल्का तथा अन्य कानूनी प्रक्रियाका लागि वडा कार्यालयका प्रतिनिधि, स्थानीय नागरिक अगुवा र चिकित्सकको रोहबरमा परिवार जनलाई रातिको करिब साढे ३ बजे प्रहरी चौकीमा बोलाए । बिहान ४ बजे पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा उनको शव पठाइयोे । तर शम्भुको परिवारले भने उनले आत्महत्या नै गरेका हुन् भन्ने पत्याएनन् ।

 

जेठ १२ गते सोमबार बेलुका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ४२ वर्षीया सुमित्रादेवी साह तेलीलाई प्रदेश नम्बर २–०२००१ त २७५ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी सुमित्रादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि चालक शम्भुलाई प्रहरीले हिरासतमा लिएको थियो ।

 

शम्भुले चलाएको ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमै रहेका उनी आफ्नै लुगाको पासो लगाएर भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ । तर उनका आफन्त र स्थानीय बासिन्दा भने प्रहरी हिरासतमा रहेका व्यक्तिले कसरी आत्महत्या गर्न सक्छ भन्ने प्रश्नका साथ प्रभावकारी छानबीनको माग गर्न थाले । प्रहरी हिरासत कक्षभित्र रहेका शम्भुले आत्महत्या नै गरेका हुन् या उनको हत्या भएको हो भन्ने प्रष्ट हुन सकेन । पोस्टमार्टममा समेत ढिलाइ हुन थाल्यो । उनको हत्या वा आत्महत्या भन्ने बारे कुनै तथ्य प्रष्ट हुन सकेन । शम्भुको परिवार र स्थानीयबासी सम्भुको हिरासतमै हत्या भएको भन्दै प्रदर्शनमा उत्रिए ।

उनको हत्या गरी शौचालयमा झुण्ड्याइएको आरोप लगाउँदै स्थानियबासीले भने आन्दोलन चर्काए ।

शम्भुको हत्या भएको जिकिर ,चर्कियो आन्दोलन
मुसहर समुदायका शम्भु गाउँकै एक सम्पन्न परिवारका व्यक्तिको ट्याक्टर चलाएर जीवन गुजारा गर्दै आइरहेका थिए । बुवा रोजगारीको लागि भारतमा रहेकाले शम्भु आमासँगै गाउँमा बस्थे । शम्भुले चलाइरहेको ट्याक्टरले एक महिलाको ज्यान लिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । घटनाको अनुसन्धान अन्तिम चरणमा थियो । तर, एक्कासी खबर आयो हिरासतभित्रै शम्भुको ज्यान गयो भनेर । शम्भुको घाँटीमा टी–शर्टको पासो थियो भने मुखमा कपडा कोचिएको थियो । हिरासतमा एक्लै रहेका शम्भु अत्तालिएर आत्म हत्या गरेको प्रहरीको दाबी छ । तर, शम्भुकी आमा सियालीदेवी सदा प्रहरीको यस्तो दाबी मान्न तयार देखिन्नन् । सियालदेवी मात्र नभएर गाउँकै दलित अगुवाहरू प्रहरीले शम्भुको हत्या गरेर आत्महत्याको रुप दिन खोजेको दाबी गर्छन् ।

हिरासतभित्रै शम्भुको ज्यान गएको खबर बाहिर आएलगत्तै स्थानीयले प्रहरी चौकीमाथि ढुंगामुढा गरे । स्थिति तनावग्रस्त बन्यो । स्थानीयले घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरे । शम्भुले थुनुवा कक्षभित्रै आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर मृतक परिवार, स्थानीय र मुसहर समुदाय यो कुरा मान्न तयार छैनन् । उनीहरुले शम्भुको हत्या गरिएको जिकीर गर्दै आएका छन् । त्यसैले मुसहर समुदायले दोषीलाई कारबाहीको माग गर्दै सबैलामा प्रदर्शन गरे । सबैलासहित धनुषा र सिरहाको विभिन्न स्थानबाट आएका मुसहर समुदायका महिला, पुरुष, बालबालिका समेत प्रदर्शनमा उत्रिए ।

शम्भुकी सासुका अनुसार उनको हत्या भएको हो र घटनाको छानबिन हुनुपर्दछ ।’‘आमा मलाई चाँडो छोडाउनुस्, नभए मलाई यहीँ मार्छन्,’ शम्भुले तीन दिन अगाडि रुँदै आफ्नी आमा र सासूलाई भनेको कुरालाई उदृत गर्दै उनकी सासुले बताइन् ।

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले मुखमा कपडा कोचिएको, ३ बजे नै उनकी आमालाई बोलाएर सही छाप गराएको र ईलाका प्रहरी कार्यालयको सिसिटिभी बन्द रहेको जस्ता घटनाक्रमले उनको हत्या भएको हुनसक्ने बताए । उनले घटनाको उच्चस्तरीय न्यायिक छानबीन नगरिए मुसहर समुदाय चरणबद्व आन्दोलनमा उत्रने चेतावनी दिए ।

शम्भुको शव झुण्डिएको अवस्थामा प्रहरी कार्यालयमै फेला परेपछि स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गर्दै झ्यालका शिसाहरु फुटाइदिए भने प्रहरीको गाडीमा पनि क्षति पुर्याए । अवस्थालाई शान्त पार्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । मुसहर समुदायका अगुवा बौएलाल माझी युवाको हत्या गरिँदासमेत कोही बोल्न नचाहेकाले समिति बनाएर निष्पक्ष छानबीन नगरिए लगातार आन्दोलनमा उत्रने चेतावनी दिन्छन् ।

छोराको मृत्युपछि विक्षिप्त सम्भुकी आमा,घटनाको छानविन गर्न समिति गठन
शम्भुको मृत्युपछि उनकी आमा सियालीदेवी विक्षिप्त बनेकी छिन् । दिउँसो केहीबेर होसमा आएकी उनले आफूलाई प्रहरीले घरबाट उठाएर राति ३ बजे प्रहरी कार्यालयमा लगेको बताइन् । रातिको बेला प्रहरीले लैजाँदै आफूलाई डर लागेको बताउँदै उनले भनिन्, ‘प्रहरीले त्यहाँ लगेपछि तिम्रो छोराले झुण्डिएर आत्महत्या गरेको भन्यो, त्यो कुरा सुन्नेवित्तिकै रुन, कराउन थालें । त्यहीबीचमा पाखुरामा एउटा सुई लगाइदियो ।’ सुई लगाएको ठाउँ देखाउँदै उनले भनिन्, ‘त्यसपछि म बेहोस जस्तै भएँ । र एक जना प्रहरीले मेरो हात समातेर कुनै कागजमा औंठा छाप लगाएको सम्झना छ ।’ त्यसपछि प्रहरीले नै आफूलाई गाडीमा चढाएर घर पुर्याइदिएको उनको भनाइ छ ।

शम्भुकी आमा सियालीदेवीले इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका भाइ कारी यादव, सबैला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पारस साह, वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा जाहेरी दिएकी हुन् । उनीहरुकै मिलेमतोमा छोराको हत्या भएको भन्दै ज्यान मुद्धामा कारबाही गर्न पनि उनले माग गरेकी छिन् ।

शम्भु सदाको प्रहरी हिरासतमा भएको शंकास्पद मृत्यु सम्बन्धमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । समितिले प्रहरी प्रशासनकै चलखेलमा शम्भु सदाको मृत्यु भएको र मृत भइसकेका सदालाई झुण्डयाएको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा उल्लेख गरिए अनुसार ट्याक्टर दुर्घटनाका बेला सम्भु सदाले लाइसेन्स नभएको लेबरलाई ट्याक्टर चलाउन दिएर दुर्घटना गराएको आरोप लगाउँदै प्रहरीले सदालाई बारम्बार शारिरिक र मानसिक यातना दिएको र त्यसपश्चात सदासँग पैसाको माग गरेको बताइएको छ । सदाले पैसा दिन नसक्दा मृतक र गाडी मालिकबीच सहमति भइसकेको रात पैसा माग्दै यातना दिने क्रममा शम्भुको मृत्यु भएको उल्लेख छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषा र शम्भु सदाको मृत्यु प्रकरणको लागि अनुसन्धानका लागि माग गर्दै आएको संघर्ष समितिबीच सहमति भएपछि शवको पोष्टमार्टम गरिएको छ । जिप्रका धनुषा र संघर्ष समितिबीच ३ बुँदे सहमति भए पछि मात्रै शवको पोष्टमार्टम एक साता पछि गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषा र संघर्ष समितिबीच घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गर्ने, मृतकको परिवारको राहतका लागि तत्काल पहल गर्ने र पीडित परिवारको शान्ति सुरक्षाको ग्यारेण्टी गर्ने सहमति भएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img