spot_img

एसईई र कक्षा १२ परीक्षा विधि ः अन्योलमा विद्यार्थी, तनावमा अभिभावक

spot_img

 काठमाडौं,  कोभिड १९ का कारण शैक्षिक सत्र दुई महिना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविश्य के हुने भन्ने तनावमा छन् ।करिब १० महिना बन्द भएको विद्यालय कोरोना संक्रमण दर कम हुँदै गएपछि खुल्न शुरु भएको थियो । भौतिक रुपमा पुनः पठनपाठन सुरु भएको केही महिनामै महामारीको दोस्रो लहर फैलियो । त्यसले फेरि वैकल्पिक माध्याममा जानुपर्ने स्थिति आयो । परीक्षाको मिति तय भइसकेपछि विद्यालय बन्द भए । अहिले केही स्थानीय तहले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्न भनिरहेका छन् ।

तर राष्ट्रिय परीक्षा बोर्डले जिम्मा पाएको एसईई र १२ को परीक्षाको भने विधि र मिति अझै निश्चित भएको छैन । अहिलेसम्म कुन विधिमा परीक्षा हुने भन्ने निश्चित नहुँदा अभिभावक एवं विद्यार्थी अलमलमा परेका हुन् ।सुहाना भण्डारी कक्षा १० की विद्यार्थी हुन् । यो शैक्षिक सत्रको केही समय मात्रै भौतिक उपस्थितिमा पढेकी उनले अनलाइन कक्षा लिएर नै पाठ्यक्रम सकिएको बताइन् । काठमाडौंको एक निजी विद्यालयमा अध्ययन गरिरहेकी भण्डारी कुन विधिमा परीक्षा दिनुपर्ने हो भन्ने निश्चित नहुँदा अलमलमा परिरहेको बताउँछिन् ।

उनलाई सबै पढाइ पनि अनलाइन माध्यमबाटै भएकाले परीक्षा पनि अनलाइन माध्यममा नै होस् भन्ने चाहना छ’, भण्डारी भन्छिन्, ‘अहिलेसम्म परीक्षा कुन माध्यममा हुने थाहा छैन । छिट्टै परीक्षाको टुंगो लागिदिए हुने जस्तो लागेको छ । सबै पढाइ पनि अनलाइन भयो । अब परीक्षा पनि अनलाइन नै भयो भने राम्रो हुन्छ । आउने वर्षहरूमा पनि सजिलो हुन्छ ।’उनको विद्यालयले अहिले अनलाइन परीक्षा लिइरहेको छ । उनी लगायत विद्यार्थीलाई विद्यालयले भौतिक रुपमा परीक्षा दिनुपर्ने निर्णय आए सोही अनुसार हुने र अन्य विधिबाट परीक्षा गराउनुपर्ने अवस्था आए अहिले भइरहेको अनलाइन परीक्षाको आधारमा मूल्यांकन हुने जानकारी दिएको छ ।

ललितपुरको एक निजी विद्यालयमा अध्ययनरत प्राप्ती अधिकारीलाई चाँडै परीक्षा हुने विधि थाहा पाउन मन लागेको छ । उनलाई भने भौतिक रूपमा परीक्षा हुँदा सहज हुने लाग्छ ।भन्छिन्, ‘मलाई फिजिकल भए पनि हुने जस्तो लागेको छ । अनलाइन हुँदा कहिलेकाहिँ नेट स्लो हुन्छ । लेखेको कपीको फोटो खिचेर पठाउँदा ढिलो जाने, कहिले नजाने हुन्छ । त्यही भएर दिक्क लाग्छ । तर फेरि रिस्क पनि छ ।’

उनको विद्यालयले भर्खरै प्रि एसईई भनेर गणितको सतप्रतिशत र बाँकी विषयको ७५ प्रतिशतको अनलाइन परीक्षा लिएको छ । अनलाइन परीक्षा भयो भने त्यही परीक्षा र टर्मिनल परीक्षाको मूल्यांकन हुने विद्यालयले जानकारी दिएको उनी बताउँछिन् ।उनले भनिन्, ‘अहिले रिभिजन क्लास भइरहेको छ । तर स्टुडेन्ट नै अनलाइन आउँदैन ।’ उनको भनाइअनुसार दुईवटा सेक्सनको एउटै अनलाइन कक्षा भइरहेको छ । दुई सेक्सनको कुल विद्यार्थी संख्या ९० जना हो तर अनलाइनमा ३५ देखि ४० जना मात्रै हुन्छन् ।

कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विकास राईलाई कहिले परीक्षा सकाएर केही दिन आनन्दले बसौं भन्ने लागिरहेको छ । व्यवस्थापन विषय पढिरहेका उनी भन्छन्, ‘परीक्षा नसकिएसम्म ढुक्क हुनै सकिँदैन । गेम खेल्न बस्यो भने पनि पढ्नुपर्ने छ भन्ने मनमा आइरहन्छ । आनन्दले खेल्न पनि सकिंदैन । पढिरहन पनि कोर्ष सकिएपछि धेरै इन्ट्रेस्ट लाग्दैन ।’ पाठ्यक्रम सकिए पनि विद्यालयले उनीहरुलाई रिभिजन कक्षा लिइरहेको छ । परीक्षाको टुंगो नहुँदा रिभिजन कक्षामा ध्यान नजाने उनको अनुभव छ ।

अभिभावकको पिरोलो पनि परीक्षाको मिति र विधि तय नभैदिनुमा छ । विधि र मिति छिट्टै तय भए ढुक्क हुन्थ्यो भन्ने अभिभावकहरुलाई लागेको छ । रमुना खड्का दाहाललाई एसईई दिन लागेकी छोरीको परीक्षा छिट्टै भइदिए हुने झैं लागिरहेको छ ।उनी भन्छिन्, ‘लामो समय अन्योल हुँदा विद्यार्थी र अभिभावक दुबैलाई छटपटी लाग्दो रहेछ । पढ्न त पढिरहेकी छे । कुन विधिबाट हुने भन्ने पनि थाहा छैन त्यसले अन्योल बनाएको छ ।’ अनलाइन र दुई महिना भौतिक उपस्थितिमा पढ्दा पाठ्यक्रम सकिएको छ । अहिले विद्यालयले रिभिजन कक्षा गरिरहेको छ ।

उनी थप्छिन्, ‘पाठ पनि सकियो । अब त कुनै विधिमा परीक्षा भए हुने त्यसपछि केही समय रिफ्रेस हुने समय दिएर नयाँ कक्षाको पढाइ थाले हुने झैं लागेको छ ।’नेपाल अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी अहिले स्थान अनुसार विद्यार्थी र अभिभावकको चिन्ता फरक फरक रहेको बताउँछन् । कतिपय ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको न्युनतम सिकाइ पनि पूरा नभएको उनको दाबी छ । त्यसैले एसईईलाई राष्ट्रिय परीक्षाबाट खारेज गरेर विद्यालयलाई नै मूल्यांकन गर्ने अधिकार दिनुपर्ने उनी बताउँछन् ।‘सबै विद्यालयका विद्यार्थीको न्यूनतम सिकाइ पूरा भएको छैन । विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयहरुमा’, उनी भन्छन्, ‘त्यसैले सिकाइ पूरा गरेकालाई मूल्यांकनको अधिकार दिने र सिकाइ पूरा नगरेकालाई पूरा गर्न लगाएर मूल्यांकन गर भन्ने ।’

दुबै तहको परीक्षाको मार्गचित्र स्पष्ट र हुने गरी तत्काल सूचना जारी गर्नुपर्ने महासंघका अध्यक्ष भण्डारीले बताए । उनी भन्छन्, ‘अभिभावक, विद्यार्थी र शिक्षकको अन्योलता हटाउँदै सरकारले तुरुन्तै सूचना जारी गर्नुपर्छ ।’राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्ष सञ्चालन सम्बन्धी सुझाव दिने समिति गठन गरेको छ ।गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए । पौडेलले यो हप्ताभित्र सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।महानिर्देशक अर्याल केही दिन भित्र सक्ने गरी काम भइरहेको बताउँछन् । उनले भने, ‘केही दिनभित्र सुझाव प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं । हामीले सुझाव मात्रै दिने हो । विधि र मितिको निर्णय त बोर्डले गर्छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img