काठमाडौं, गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ ।दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।
यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनायो ।नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।
गण्डकी प्रदेशसभामा ३ सदस्य भएको राष्ट्रिय जनमोर्चाले साथ दिएमात्र गुरुङ नेतृत्वको सरकार टिक्ने छ । अघिल्लो पटक कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ भन्ने चासो छ।