लुम्बिनी, प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी रहेको छ । सोमबार ११ बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा २३१ मत खसेको छ ।स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ६४ र पुरुष ६५ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फको मतदान केन्द्रमा २८ महिला र ४० पुरुषले मतदान गरेका छन् ।
यस्तै कोभिडतर्फको मतदानमा १० महिला र ४ पुरुषले मतदान गरेका छन् ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी रहेको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि यो उपनिर्वाचनमा मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।