काठमाडौं, नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आज दिउँसो २ बजे इतरपक्षीय केन्द्रीय सदस्यबीच भर्चुअल मिटिङ हुन लागेको हो ।केन्द्रीय सदस्य जीवन परियारका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौला र आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् ।कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ १० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले संस्थापन इतर पक्षसँग छलफल गर्न लागेका हुन् ।
१३ जेठमा नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए ।अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट महाधिवेशन गर्ने सकिने पौडेलको पहिलो विकल्प छ । यस्तै १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने उले दोस्रो विकल्प पनि अगाडि सारेका छन् ।यस विषयमा सुरुमा आफू पक्षीय नेताहरुसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लिने पौडेलको तयारी रहेको बुझिएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ ।किन भने पार्टीलाई संवैधानिक संकटबाट जोगाउन ०७८ भदौ ७–१० का लागि तय भएको १४ औं महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ ।संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।
यो वाध्यतामाथि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या चुनौतीका रुपमा खडा भएको छ । त्यसमाथि अहिले कोरोनाको महामारीको अर्को चुनौती थपिएको छ ।असारको तोस्रो साताबाट अधिवेशनको चरण सुरु हुनुपर्नेमा जेष्ठ दोस्रो साता बित्न लाग्दा पनि क्रियाशील सदस्यताको कामले पूर्णता पाएको छैन । यस्तो अवस्थामा अब कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे काँग्रेसमा आन्तरिक छलफल चलिरहेको छ ।