काठमाडौं, नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् ।भर्चुअल माध्यमबाट भएको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग अनौपचारिक छलफलमा रहेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका निम्ति इमान्दार पहल भइरहेको बताए ।‘हामी पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । अब हेरौं बालुवाटारले कसरी लिन्छ’, पाण्डेले भने । उनले केन्द्रीय सदस्यहरुलाई नआत्तिन आग्रह गरेका थिए । ‘हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ’, पाण्डेको भनाइ थियो ।पाण्डेसँग मिल्दो ब्रिफिङ नेता भुसालले पनि गरेको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा धारणा राख्दै नेता झलनाथ खनालले एमाले पार्टी एजेण्डामा बाँच्न नसकेकाले अहिलेको संकट आएको बताएका थिए । ‘पार्टी एजेण्डामा बाँच्नुपर्थ्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका लागिविरुद्ध संघर्ष गर्नुपर्छ’, नेता खनालले भने ।भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, खनालले संगठन मात्रै ठूलो नभएर केही नहुने भएकाले एजेण्डामा आधारित बनाउनुपर्ने बताए ।नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टीभित्र भइरहेको विवाद र वार्ताबारे बुझ्न भर्चुअल भेलाको माग राखेका थिए ।