सुदूरपश्चिम, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट मंगलबार विश्वासको मत लिने भएका छन् । एमालेको विवाद संसदमा पनि देखिन थालेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिने तयारी गरेका हुन् ।विश्वासको मत लिने प्रयोजनका लागि आइतबार पत्र दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ । पत्र दर्ता भएको ४८ घन्टापछि विश्वासको मत लिनुपर्ने नियम निलम्बन गरेर सकभर छिटो विश्वासको मत लिने प्रयास भइरहेको माओवादी संसदीय दलका सचेतक अक्कलबहादुर रावलले जानकारी दिएका छन् ।
‘विश्वासको मत लिने प्रयास भइरहेको छ, त्यसका लागि छलफल गरिरहेका छौँ,’ उनले भने, ‘कांग्रेसबाट नियम निलम्बन नगरौँ भन्ने कुरा आएको छ ।’माओवादी संसदीय दलले मुख्यमन्त्री भट्टको पक्षमा मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।गत २२ गते सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमै एमालेको ओली समूहका सांसदले मुख्यमन्त्री भट्टको राजीनामा माग गरेका थिए । ओली पक्षका सांसद पठानसिंह बोहराले एमालेले समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री भट्ट अल्पमतमा परेको बताएका थिए । अल्पमतमा परेको मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको माग थियो ।
गत १० जेठमा एमाले स्थायी समिति बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समर्थन फिर्ताको निर्णय संसद् सचिवालयमा दर्ता गराइसकेको सांसद बोहराले बताए ।बैठकमा संसदीय दलको प्रतिनिधित्व गर्दै बोलेका खनाल–नेपालनिकट सांसद अमरबहादुर साउदले प्रदेश सरकारलाई एमाले संसदीय दलको समर्थन रहेको बताएका थिए ।एमाले संसदीय दलले भने सरकारको समर्थन कायम राख्ने निर्णय गरेको छ । १२ जेठमा बसेको संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको हो । संसदमा एमालेका २४ मध्ये झलनाथ खनाल–माधव नेपाल समूहको बहुमत छ । आफ्नो समूहमा १५ जना रहेको उक्त समूहका एक सांसदले बताए ।
संसदीय दलको निर्णयपछि सरकारमा एमालेबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । प्रदेश सरकारमा खनाल–नेपाल समूहका सातजना मन्त्री छन् ।उक्त समूहका १५ जनाको समर्थनमा विश्वासको मत लिनेमा मुख्यमन्त्री ढुक्क देखिन्छन् । हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको मत आवश्यक पर्छ । माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद छन् ।