काठमाडाैँ,चितवनको माडी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुसुम खोलामा रहेको बस्तीमा साउन ३ गते शनिबार चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। निकुञ्जको टोली ७ हात्तीसहित पुगेको टोलीले त्यहाँका खेत र पाखामा लगाइएको बाली नष्ट गर्नुका साथै त्यहाँ रहेका घर भत्काइदियो। दुइटा घरमा आगो लगाइदियो। निकुञ्जले जलाएका घरहरू अहिले स्थायी बसोबास गर्दै आएका छन् ।
वन मन्त्री शक्तिबहादुर बस्नेतले भने घर नभई बाली कुर्न बनाइएको मचान जलाइएको र गोठ भत्काइएको अभिव्यक्ति दिएका थिए। मन्त्रीको अभिव्यक्ति आउनुअघि नेपाल सरकारका सह सचिव नेतृत्वको टोली कुसुमखोला पुगेको थियो। माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले निकुञ्जले अनावश्यक बलमिच्याइँ गरेको बताए । उनले स्थानीय चेपाङको घर भत्काएर जलाइएको भन्दै मन्त्रीले पनि झुठो अभिव्यक्ति दिएको बताए। बस्ती सार्ने प्रयास भइरहँदा यसलाई बिथोल्ने प्रयास भएको मेयर ढकालको भनाइ छ।
निकुञ्जको टोलीले हात्ती लगाएर घर भत्काइदिएपछि स्थानीयबासीहरू त्रसित छन्। स्थानीय कविता चेपाङ सपनामा पनि हात्तीले तर्साउने गरेको बताउँछिन्। जनताकाे संरक्षक सरकारले नै घर भत्काएपछि अहिले गरिव चेपाङ घरबार विहिन भएका छन् ।