धनगढी, टीकापुर, महेन्द्रनगर — मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा पर्ने भजनी–८ सुनाफाँटाका ईश्वरी शाह, चक्र विक र स्केल चौधरी बेपत्ता भएका छन् । ११ वर्षीय चौधरी घरनजिकै कुलोमा बगेर बेपत्ता भएका हुन् भने हुलाकी सडकमा बाढी तरेर आइरहेका चार जनामध्ये ईश्वर र चक्र बेपत्ता भएका हुन् । बिक्की शाह र हेमन्त शाहको स्थानीयले उद्धार गरेका थिए ।
विस्थापितलाई स्थानीय आवास गृह र बाढी नपसेको ठाउँका स्कुल भवनहरूमा राखिएको छ । भजनीका केही वडामा गैरसरकारी संस्थाले सुरक्षित गृह बनाएका छन् । ‘अहिले उद्धार कार्यलाई प्राथमिकता दिइएको छ,’ प्रजिअ बोहराले भने, ‘वर्षा निरन्तर भइरहेको छ । बाढीको खतरा अझै बढ्ने देखिन्छ । जीउधनको क्षति हुन नदिन उद्धार कार्यलाई प्रभावकारी पार्नेतिर लागिएको छ ।’
उनले तत्कालको राहतका लागि स्थानीय तहका विपद् व्यवस्थापन समिति र रेडक्रससँग समन्वय भएको बताए । उद्धार गरिएका परिवारलाई ड्राइफुड, खानेपानी र लुगाहरू उपलब्ध गराउने काम स्थानीय तहका विपद् व्यवस्थापन समितिबाट भइरहेको छ । उनका अनुसार घरभित्र बाढी पसेर करिब १० हजार परिवार प्रभावित भएका छन् । उक्त क्षेत्रमा घरभित्र बाढी पसेर अन्न, लत्ताकपडा भिजाएर खराब नगरेको कोही परिवार बाँकी छैन । भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीका अनुसार बाढीले सबै वडा प्रभावित भए पनि ३, ५, ७ र ८ नम्बर वडा पूर्ण डुबानमा छन् । कान्ध्रा, मोहना र पथरिया नदीको बाढी बस्तीमा पस्दा भजनी–८ का दैलेखेगाउँ, जनकपुर, खैरा, चर्रा, सुनाफाँटा, कृष्णनगरलगायत दर्जनभन्दा बढी गाउँ चुर्लुम्म डुबेका छन् ।
महाकालीको बहाव खतरानजिक
महाकालीमा पानीको सतह बढेपछि कञ्चनपुरको नदी किनारका बासिन्दालाई सतर्कताका लागि सचेत गराइएको छ । नदी सतह बढ्ने क्रम जारी भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना प्रवाह गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो महाकालीमा २ लाख २८ हजार ७ सय ८० क्युसेक बहाव पुगेको छ । कान्तिपुर दैनिकमा खवर छ ।