रूपक कुलाल,काठमाडाैँ
पछिल्लो समय अख्तियारको फन्दामा परेका सरकारी बहालवालादेखि पूर्वकर्मचारी धमाधम आत्महत्या गरिरहेका छन् । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड भिडियो सन्देशले मुलुकभर चर्चा मात्र पाएको छैन, नाम चलेका पत्रकार पक्राउ परेका छन् । मंगलबार सिंहदरबार परिसरभित्रै कार्यरत नायब सुब्बा बच्चुराम केसीले आत्महत्या गरेपछि शक्तिकेन्द्रमा पनि ‘सुसाइड बम’ प्रहार भएको छ ।
पछिल्लो समय मुलुकमा आत्महत्याका घटना बढिरहेका छन् । साउन ३ गते त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका पूर्वसहसचिव रामबहादुर पाण्डेले आत्महत्या गरे । यो प्रकरण सेलाउन नपाउँदै साउन १२ गते मालपोत कार्यालय डिल्लीबजारका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि आत्महत्या गरे । यस्तै, उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० का पूर्व नायवसुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरे । जेठ ३ गते आचार्यसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेको थियो । यी त सरकारी बहालवालादेखि पूर्व कर्मचारीले गरेका आत्महत्याका शृंखला थिए ।
साउन २० गते पत्रकार शालिकराम पुडासैनी चितवनको नारायणगढ, बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिए । पुडासैनी आत्महत्या प्रकरणपछि साउन ३० गते न्युज २४ का सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेर चितवन पु¥यायो, अदालतमा दुईपटक म्याद थपेर अनुसन्धान गरिरहेको छ । यो घटनाले सर्वत्र चर्चा पाइरहेको छ । घटना सेलाउँन नपाउँदै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै रहेको राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसीले विष सेवन गरी आत्महत्या गरे ।
नेपालमा आत्महत्याको तथ्याङ्क हेर्ने हो भने हरेक दिन १६ जनाले आत्महत्या गर्छन् भने ८.२ प्रतिशतका दरले आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्ने गरेको प्रहरी तथ्याङ्कले बताउँछ । नेपालको कुल आपराधिक क्रियाकलापबाट हुने मृत्यु मध्ये ४५ प्रतिशत आत्महत्याबाट हुने गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउनु हुन्छ । आत्महत्या गर्नेमध्ये ५७ प्रतिशत पुरुष छन् भने ४३ प्रतिशत महिला ।
यस्तो छ ५ वर्षको आत्महत्या तथ्याङ्क
आर्थिक वर्ष आत्महत्याको संख्या
२०७१–७२ ४ हजार ३ सय ३२
२०७२–७३ ४ हजार ६ सय ८०
२०७३–७४ ५ हजार १ सय २४
२०७४–७५ ५ हजार ३ सय १७
२०७५–७६ ५ हजार ७ सय ८५
स्रोतः नेपाल प्रहरी
आत्महत्यामध्ये ७५ प्रतिशतले झुण्डिएर आत्महत्या गरेका छन् भने २३ प्रतिशतले विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् ।
उमेर अनुसार आत्महत्याः
१८ वर्षभन्दा मुनिका ८ प्रतिशत
१९ देखि ४० वर्षसम्म ६५ प्रतिशत
४१ देखि ६० वर्षका २९ प्रतिशत
६१ वर्ष भन्दा माथि ७ प्रतिशत
आत्महत्या गर्नुका कारणहरुः
आवेशमा आएर २४ प्रतिशत
नैराश्यता, मानसिक, दीर्घ रोगी १५ प्रतिशत
पारिवारिक कलह १५ प्रतिशत
गरिबी ८ प्रतिशत
प्रेममा धोका खाएर ५ प्रतिशत
असफलताबाट २ प्रतिशत
आर्थिक लेनदेन विवाद २ प्रतिशत
व्यावसायिक तनाव २ प्रतिशत
नखुलेको २५ प्रतिशतमा
अन्य २ प्रतिशत


















