कोरोना कोरोना भन्दाभन्दै मानिसहरुमा ‘कोरोनाफोविया’ भइसकेको छ। केही दिनयता नागरिकलाई सचेत गराउनका लागि सरकारले नेपाल टेलिकमको मोबाइलमा ‘सिआरबिटी’ राखिदिएको छ।
फोन गर्दा लामो समयसम्म कोरोनाको बारेमा सुन्नुपर्दा मानिसहरुको मनमा नकारात्मक असर पर्न सक्छ। सरकारले गरेको यो कदम राम्रो हो। तर मानिसहरु कोरोनाको नामले त्रसित भइरहेका बेला कसैको फोन नउठ्दा सुनिरहनु पर्ने बाध्यताले कसैलाई पीडा हुन सक्छ।
यस्तै दोहोरिने कुराले मानिसमा थप नकारात्मक असर सृजना गर्न सक्छ।
मानिसहहरु धेरैभन्दा धेरै समय सोसल साइटमा बिताउन थालेका छन्। जता हेर्यो त्यतै कोरोनामय भइरहेको छ। त्यसैगरी विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारी घोषणा गरिसकेको छ। नेपाल सरकारले पनि ‘लकडाउन’को प्रकृया सुरु गरेको छ।
यसले मानिसमा त्रास बढेको छ। कुनै पनि व्यक्तिको मनमा उब्जिने डर भनेकै ‘मृत्यु’ हो।
अहिले धेरै व्यक्तिको काम भनेकै सोसल मिडियामा कहाँ के भइरहेको छ भन्दै खोज्ने भइरहेको छ। इटालीमा कति जनाको मृत्यु भयो? अमेरिकामा कति जनाको मृत्यु भयो र कहाँ कति जना संक्रमित भए? भन्दै खोज्नु नै सबैको दैनिकी बनिरहेको छ। यही कुरालाई हामी मनमा लिन्छौँ– यति धेरै मानिस मरिरहेका छन्!
विभिन्न देशमा प्रकाशित हुने गरेको समाचार तथा लेखहरु नेपालीमा अनुवाद गरेर लेख्ने गरिएको सामाग्रीले कुराले मानिसको मनमा अझ धेरै डर पैदा गर्ने काम गरिरहेका हुन्छन्।
डर पैदा हुनुको मुख्य कारण भनेकै ‘रियालिटी’लाई नबुझ्नु हो। नेपालमा भइरहेका नमुना परीक्षणप्रतिको शंका भयो। पछिल्लो समय मानिसले रिपोर्ट लुकाएको हुन सक्नेसम्म आरोप सरकारलाई लगाइरहेका छन्। नर्भिक अस्पलालकै कुरा गर्ने हो भने सत्य कुरा केही कसैले पनि बुझ्न चाहेनन्। मात्र मानिसहरु त्यही हल्लाको पछाडि लागे।
हामी रियालिटीलाई भन्दा पनि हल्लालाई धेरै पछ्याइरहेका छौँ। यस्ता कुराले मानिसमा मनोवैज्ञानिक रुपमा धेरै नै असर गरिरहेको छ। हामी अहिलेसम्म सुरक्षित छौँ। तर नकारात्मक कुराहरुले यहाँ द्वन्द्व सृजना गराइरहेको छ।
सोसल मिडियामा फैलिएका अनावश्यक हल्लाको पछाडि नलागि यसबाट बच्नका लागि अपनाइने उपायहरु अपनाउन जरुरी छ।
मिडियाहरुले यसका बारेमा धेरै सकारात्मक समाचार सम्प्रेषण गरिरहेका छन्। अनावश्यक कुरालाई बेवास्ता गर्न अत्यन्तै जरुरी छ। सरकारले हामीलाई घर बाहिर ननिस्किन भनेको छ। यो समयमा हामी आफूलाई बलियो बनाउन सक्छौँ। मेडिटेसन गर्न सक्छौँ। घर परिवारसँग समय बिताउन सक्छौँ। अभिभावकहरुले आफ्ना बालबालिकालाई कोरोनाका बारेमा बुझाउन सक्नुपर्छ।
अभिभावकहरु आफै अलमल र त्रासमा छन्। यस्तो बेला उनीहरुले आफ्नो बालबालिकालाई बुझाउन सक्दैनन्। त्यसैले कुनै पनि व्यक्ति रियालिटीलाई बुझ्ने आवश्यक छ।
कुनै पनि रोगसँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ। यसका लागि विश्व स्वास्थ्य संगठनले भने अनुसार सबै कुरालाई ध्यानमा राखि व्यवहारमा लागु गर्न सके कोरोनाको संक्रमणबाट बच्न सकिन्छ। यसबाट हामी डराउन आवश्यक छैन।
रिपोर्ट लुकायो भन्ने कुराको हकमा के हुन्छ भने कुनै पनि कुरा लुकाएर लुक्न सक्दैन। रिपोर्ट लुकाएको भए अहिलेसम्म नेपालमा पनि मानिसहरुको मृत्यु भइसकेको हुन्थ्यो। जुन अहिलेसम्म देखिएको छैन। त्यसैले यस्ता त्रासपूर्ण कुराबाट टाढै बस्नु पर्छ।
कोरोनाको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मात्रै नहेरौँ। हजारौँ मानिस संक्रमित भई निको भएर घर फर्किसकेका पनि छन्।
तर पनि यदि कसैलाई अत्याधिक डर लाग्छ वा त्यही कुरा मनमा खेलिरहन्छ भने मनोविद्हरुसँग परामर्श लिन सकिन्छ।
धेरै कुरा जानेर मात्र हुँदैन। कोरोनाको बारेमा थाहा नभएका वा कम जानकारी भएका व्यक्ति धेरै जानकारी भएका व्यक्तिभन्दा बढी खुसी हुन सक्छन्। भाइरसलाई हामी न रोक्न सक्छौँ न छेक्न नै सक्छौँ। बस् खुसी रहौँ।
यो समयमा ह्याप्पी हुनुस्, रिल्याक्स् गर्नुस्। हरेक कुरामा पोजेटिभ हुनुहोस्। जसले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाओस्।
(मनोविद् आदर्श प्रधानसँग गरिएको कुराकानीमा आधारित)