कोरोना भाइरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ। चार जनाको उपचार आइसोलेसनमा (छुट्टै कोठा )मा राखेर भइरहेको छ। पहिलो पटक संक्रमण भएका युवा निको भएर घर फर्किसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा देखिएका पाँच जना संक्रमितमध्ये तीन जनाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ। बाँकी एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। पहिलो संक्रमित युवालाई सञ्चो भएपछि शुक्रराज अस्पतालले एक महिनाअघि डिस्चार्च गरेको थियो।
शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार काठमाडौंमा भर्ना भएकाको स्वास्थ्य सामान्य छ। ‘अहिलेसम्म सबै जनाको स्वास्थ्य सामान्य छ’, उनले भने, ‘संक्रमितमध्ये तीन पुरुष र दुई महिला छन्।
संक्रमितमध्ये एक महिला र एक पुरुषको शुक्रराज अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंबाहिर भेटिएका एक युवाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्की बागलुङमा फेला परेकी महिलालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ।