माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध संघर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताएका छन् ।
आइतबार चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्र निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको जनाए । अध्यक्ष दाहालले पछिल्लो पुस्ताले सो चलचित्र हेरेर यसको भाव बुझ्न आवश्यक रहेको पनि जानकारि गराए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष दाहाल तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू आज उक्त चलचित्र हेर्न सिटी सेन्टर पुगेका थिए । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोजको विशेष प्रदर्शन गरिएको हो ।
प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।
चलचित्र महाभोजका निर्माता हिमाल कडरिया तथा निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन् । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।