आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा हेर्दै माओवादी र एकीकृत समाजवादीले यही महिनाभित्रै पार्टी एकता गर्ने गरी छलफल अघि बढाएका छन् । एकताका लागि वैचारिक–सैद्धान्तिक सवालमा समानता भए पनि संगठनात्मक र केही प्राविधिक विषय टुंग्याउन बाँकी रहेको दुवैतर्फका नेताले बताएका छन् ।
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ३० कात्तिकभित्र दल दर्ताको समयसीमा छ । निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक प्रावधानले पनि सो अवधिभित्रै एकताको गृहकार्य तीव्र भइरहेको नेताहरू दाबी गर्छन् । एकतालाई लिएर दुवै पार्टीमा असन्तुष्टि पनि छन् ।
यसलाई ध्यान दिँदै एकताकेन्द्रित औपचारिक–अनौपचारिक छलफल जारी रहेको र चाँडै सहमति जुट्ने नेताहरूको विश्वास छ । माओवादी र एकीकृत समाजवादीबाहेक महिन्द्र राय यादव नेतृत्वको नेसपा, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र प्रेमबहादुर सिंहबिच एकै चरणमा एकताको प्रयास छ ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने शक्तिहरू एकता गर्ने सैद्धान्तिक निर्णयअनुसार विभिन्न शक्तिसँग छलफल भइरहेको, तर एकताको समयसीमा टुंगिन बाँकी रहेको बताए । ‘विचार, सिद्धान्त मिल्ने दलहरूसँग एकताको निर्णय गरिसकेका छौँ । त्यसैअनुसार विभिन्न शक्तिसँग तीव्र र सघन छलफल भइरहेको छ । तर, एकता ठ्याक्कै कहिले भन्ने टुंगिएको छैन । छलफल गर्दै जाँदा एकताको विषय टुंगिन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।
यो प्रक्रियामा सामेल हुन चाहेका दलहरूले मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, बहुपद नरहने र पार्टी पुनर्गठनको सन्देश जाने गरी एकताको तयारी गरेका छन् । माओवादी र एकीकृत समाजवादीबिच नेपाली समाजको चरित्र पुँजीवादी छ भन्ने समान निष्कर्ष छ । उनीहरूबिच नेपाली समाजको मुख्य समस्या दलाल नोकरसाही पुँजीवाद भएकोमा पनि समान मत छ । माओवादीले मान्दै आएको माओवाद र एकीकृत समाजवादीले मान्दै आएको जनताको बहुदलीय जनवाद छोड्न तयार भएका छन् ।
कमिटी सानो आकारको बनाउने र तह पनि धेरै नराख्ने समझदारी रहेको बताइएको छ । तर, संख्या भने टुंगिएको छैन । हाल माओवादीको केन्द्रीय कमिटी चार सयहाराहारी र एकीकृत समाजवादीको केन्द्रीय कमिटी साढे तीन सयहाराहारीको छ ।
नेताहरू एकीकृत पार्टीमा अध्यक्ष पद नराख्ने समझदारीनजिक पुगेका छन् । तर, त्यसको विकल्पमा के राख्ने भन्नेमा छलफल जारी छ । नेतृत्वको विषय टुंग्याउने जिम्मा माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिइएको नेताहरूले बताएका छन् । प्रचण्ड र नेपाल नियमित सम्पर्कमा छन् । नेपालले केन्द्रीय समिति बैठक बोलाएका छन् भने प्रचण्डले पनि सचिवालय बैठक बोलाउने तयारी गरेका छन् ।
निर्देशक वा परामर्श समिति बनाउने कि भन्ने विषयमा पनि छलफल चलेको छ । एउटा मूल काम गर्ने सचिवालय रहने र अरू सदस्य बन्ने मोडलमा पनि छलफल भएको छ । तर, टुंगिन बाँकी रहेको वार्तामा सहभागी एक नेताले बताए । चुनाव चिह्न के राख्ने भन्नेमा पनि छलफल जारी छ । एकीकृत समाजवादीको कलम राख्ने कि नयाँ खोज्ने भन्ने विषयमा कुराकानी भइरहेको छ ।
छलफल जारी रहेको र एकताको विषय टुंगिन बाँकी रहेको एकीकृत समाजवादीका उपाध्यक्ष एवं वार्ता टोली सदस्य प्रकाश ज्वालाले बताए । ‘एकीकृत पार्टीको नेतृत्वको पदीय हैसियत कस्तो रहने भन्ने टुंगिएको छैन । सानो र चुस्त कमिटी बनाउने तथा धेरै तह र पद नबनाउने भन्ने छ । अब अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत धेरैवटा पद नराख्ने भन्ने छ । मूल नेतृत्वमा कस्तो मोडल अपनाउने भन्नेबारे शीर्ष नेतालाई जिम्मा दिइएको छ,’ ज्वालाले भने ।
पार्टी एकताको विषयमा तिहारमा प्रचण्ड नेतृत्वको माओवादी, नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय नेतृत्वको नेसपा, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र प्रेमबहादुर सिंहबिच एकताकेन्द्रित छलफल भएको छ । कार्की नेतृत्वको नेकपा समाजवादी एकीकृत पार्टीको नाम राख्ने विषयमा पनि छलफल भएको छ । विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पनि एकताको विषयमा कुराकानी भइरहेको नेताहरू बताउँछन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले निकट नेताहरूसँग गणतन्त्र, संविधानका पक्षधर र समाजवादी शक्तिसँग एकताको विषयमा छलफल चलिरहेको बताएका छन् । विचार, सिद्धान्त, कार्यक्रम र मन मिल्नेसँग एकता गरेर जाने भन्दै नेपालले मनोवैज्ञानिक रूपमा तयार रहन भनेका छन् ।
यसैका लागि एकीकृत समाजवादीले आगामी १२ र १३ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा पार्टी एकताको विषयमा छलफल हुनेछ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेता माओवादीसँग एकता गर्न नहुने पक्षमा छन् । तर, बहुमतको निर्णय मान्य हुने भएकाले केन्द्रीय कमिटीले एकताको निर्णय गरेर अघि बढ्ने तयारी छ । ‘अहिले एकताको समय होइन, पार्टी पुनर्गठन गरेर जाने हो । हामी केन्द्रीय कमिटीमा सोही ढंगले प्रस्तुत हुन्छौँ,’ पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने ।
माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य जनार्दन शर्मालगायत नेताहरू असन्तुष्ट छन् । प्रचण्डनिकट मानिएकै कतिपय नेताले पनि हतारमा नभई परिपक्व एकता प्रक्रियामा जोड दिएका छन् ।
एकताको आवश्यकता झनै बढ्यो ः विप्लव
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबिचको एकताको आवश्यकता झनै बढेको बताएका छन् । पाँचबुँदे धारणा सार्वजनिक गर्दै विप्लवले पार्टी एकतालाई सकारात्मक रूपले लिनुपर्ने बताएका छन् । ‘कम्युनिस्टहरूबिचको एकताको आवश्यकता झनै बढेको छ । एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन्, तर टुंगो लागिसकेको छैन । यदि कुनै पार्टीहरूबिच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ,’ विप्लवले भनेका छन् ।
कम्तीमा कम्युनिस्टबिच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकारसहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबिच मोर्चा निर्माणमा अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् ।